जरुर भेटिनु छ
अचानक भेटिन सक्छौ हामी
कुनै भिडभाड गल्ली या चोकको घुइचोमा
अथवा कुनै सभाहल भित्रको कोठामा
भेटिन सक्छौ हामी
आफ्नै परिस्थितिको दासी भएको अवस्थामा
तर जरुर भेटिने छौ
भेटिन सक्छौ हामी
यादहरुको सागरमा डुबुल्की मार्दा मार्दै
या बाडुलीको हिक्काले गोता मार्दा
या आफ्नै छाया गहिरिएर हेर्दा हेर्दै
तर जरुर भेटिने छौ
भेटिन सक्छौ हामी
झरेर गएका शितको थोपामा
या कुनै बिराहीको गितको आवाजमा
या टुटेको गितारबाट ननिस्केको बेसुर संगीतमा
तर भेटिनु छ जरुर हामी
थाहा छैन
तिमी संगको भेटमा
म खुसीले रुन्छु
या दुखले रुन्छु
त्यति बेला पक्कै मेरो आखामा आँसु हुनेछ।
