आखिर के थियो तिम्रो प्रेममा

एक दिन तिमीले भन्यौँ–
म तिमीलाई प्रेम गर्छु
त्यस दिनदेखि खुलेको हो
यो मनको आकाश ।

बतास सुस्तसुस्त बयेलीमा
आभास हुँदै थियो अनौठो स्पर्श
सिमलका हाँगामाथि बसेर
साउती गर्दै थिए एक जोडी चखेवा
जंगलभरि थियो सुनाखरीको मगमगाहट ।

अन्योललाग्दो गन्तव्य
एकाएक नजिक बन्दै गएको आभास हुन्थ्यो
सुनामी छालझैँ उर्लिंदा पीडाहरु
एकाएक मौन हँुदै थिए
सिग्न लाग्ने आशाका जूनकीरी
बल्दै गए एकाएक धिपिक्क–धिपिक्क ।

क्रमशः पूर्ण हुँदै थिए
अभावका गहिराईहरु,
लयबद्ध हुँदै सरगम भरिँदै थिए
बेसुर–बेसुर जिन्दगीमा धुन,
सहज बन्दै थियो हिँड्ने बाटो
यात्रामा तिम्रो आगमनले
फुल्न थालेका त्यसयता
अनुहारमा रंगीन फूलहरु ।

ए मेरो हजुर !
आखिर के थियो तिम्रो प्रेममा?

दिपा मेवाहाङ राई

About The Author

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top