त्यस यता एकपटक पनि सपनामा पापालाई देखिनँ

२०६३ सालको कुरा हो । म कक्षा आठमा पढ्दै थिएँ । घर देखी स्कुलसम्मको दुरी लामो थियो । करिब डेढ घन्टाको । दिउँसोको स्कुल हुनुजेल त घरदेखी नै भ्याईयो । बिहान कोचिङ क्लास साँझ ट्युसन क्लास चल्न थाले पछि भने समस्या भयो । सधैको हस्याङफस्याङले मेरो हालत दयनिय भएको थियो । मैले पापाको अनुहार हेरें, याचनापूर्ण तवरले । मेरो आड भरोसा भनेकै पापा हुनुहुन्थ्यो । कक्षा नौमा भर्ना हुनु अघि पापाले स्कुल नजिकै कोठा भाडामा लिईदिनुभयो । रासनपानीको व्यवस्था गरिदिनुभयो । म संगै मामाको छोरा अर्जुन दादा पनि बस्न थाल्नुभयो । मलाई झन् सजिलो भयो ।
त्यसपछि मेरो दैनिकी बद्लियो । बिहान ६ बजे उठ्ने । चिया पिउने । ८ बजेसम्म कोठामा पढ्ने ।  ९ बजेसम्म कोचिङ पढ्ने । त्यसपछि खाना तयार गर्ने । खाने । अनि स्कुल जाने ।
महिना दिनको अन्तरालमा घर जान्थें । त्यो पनि शुक्रबार कक्षा सकिएपछि । शनिबार साँझ फर्किनेगरि । जम्माजम्मी एकदिने बसाँई । त्यो पनि सानो भाई डोर्याएर मामाघर चहार्दैमा सकिन्थ्यो । कोठा फर्किने बेला हामीसंग चामल, सब्जी, तेल आदि इत्यादी हुन्थ्यो ।
हाम्रो घर मावल गाउँमा थियो  । त्यसकारण गाउँमा पापालाई धेरै भेना र ज्वाई भनेर सम्बोधन गर्थे । मेरी आमालाई आन्टीहरुले दिदी भन्थे । यही लै लैमा लागेर मैले पनि आमालाई दिदी भन्न थालेछु । जुन आदत आज पर्यन्त कायम छ । हुन पनि हामी स्वाभावत दिदी बहिनी जस्तै छौं । कहिलेकँही आमा जिस्किनुहुन्थ्यो “मलाई दिदी भनिस् । अब पापालाई भेना भन् ।” म हाँस्थें मात्रै । मेरो सिको गर्दै भाईले पनि निकै समयसम्म आमालाई दिदी भनिरह्यो । पछि बनेपा गएर फिरेपछि चै ममी भन्न थाल्यो ।

अध्ययनको कारण पापासंग मेरो भेट पातलो हुन थाल्यो । त्यसो त म घरमै हुदाँ  पनि बाक्लो भेट कहाँ हुन्थ्यो र ! त्यतिखेर म सानै थिएँ । उहाँ नियमित जस्तो घोडामा सामान ओसारपसार गर्नुहुुन्थ्यो । कहिले जिर्मलेबाट सामान लगेर भारतको नक्साल पुर्याउनुहुन्थ्यो । कहिले सलकपुरबाट साहुको गोदाममा दुई तीन खेप सामान पुर्याउनुहुन्थ्यो । घर फिर्दा रातको दश एघार बजिसक्थ्यो । म नौ बजे निदाईसकेकी हुन्थें । कहिलेकाँही मात्र दिउँसो फर्किनुहुन्थ्यो । पापाले घोडाको घाँटीमा सानो घण्टी झुण्डाईदिनुभएको थियो । घर नजिकै आईपुग्दा त्यो बेस्सरी बज्थ्यो । त्यो मेरो लागि पापा आउनुभएको संकेत हुन्थ्यो । अनि कुदेर म पापालाई लिन जान्थें । गएर ग्वाम्लाङग अँगालो हाल्थें । अनि मात्र उहाँको अनुहार हेर्थें । त्यतिखेर पापाको अनुहारबाट थकान बगिरहेको हुन्थ्यो । लफ्रक्कसंग । मलाई नमज्जा लाग्थ्यो । फेरि क्षणभरमै म खुसी हुन्थें । पापा घर अगाडिको सुपारीको बोटमा घोडा बाँध्नुहुन्थ्यो । अनि पहिले गोजीबाट चकलेट, बिस्कुट झिक्नुहन्थ्यो । त्यसपछि मेरो हातमा राखिदिनुहुन्थ्यो ।
…   …   …
मेरो जिवनमा पापा प्रिय र अप्रिय दुबै हुनुभयो ।
उहाँको अनुहार सधैं उज्यालो हुन्थ्यो । जोसिलो पनि । सकारात्मक विचारले भरिएको । तर एकदम कम बोल्ने । आमा र पापा मिलेर घर घर जस्तो बनाउनु भएको थियो । सुखी संसार थियो । तर जीवनमा धेरै थोक नसोचेको भईदिदों रहेछ । जसको आभास समेत नहुदों रहेछ ।
म दुई वर्षको हुदाँ पापा परदेश जानुभएको थियो । परदेशिएको वर्षदिनमै टिबि लागेर फर्किनुभयो । उपचारको लागि काठमाण्डुमा बस्नुभयो । हामी पनि झापामा बस्थ्यौं । बिरामी पापाको चिन्तामा आमा सिन्का हुनुहुन्थ्यो । त्यसबखत अहिले जस्तो हातहातमा मोबाईल थिएन । ल्याण्डलाईन फोनबाट बिरामी पापाको हालचाल बुझ्न हामी बीस मिनेटको बाटो तय गथ्र्यौं । मान्छेहरुको भिड लागेको हुन्थ्यो टेलिफोन बुथमा । लाईन बसेर घण्टौं कुथ्र्यौं । लामो पखाई पश्चात छोटो कुरा हुन्थ्यो । करिब करिब बिर्सनै लागेको पापाको आवाज फेरि कानमा गुन्जिन्थ्यो । पापाको आवाज सुनेपछि अघिको त्यो अत्यास लाग्दो समय याद रहदैन थियो । सब सब दुःख बतासले लगे जस्तो लाग्थ्यो । पहिले पहिले महिना दिन बिराएर फोन वार्ता हुन्थ्यो । पछि पछि त्यो दुई महिना, तीन महिनामा परिणत हुदै गयो । बिस्तारै फोन आउने क्रम टुट्यो ।  पहिले पहिले “तपाईँँको फोन फलानो दिन, यति बजे आउँछ । बुथमा जानु है।” भन्ने मान्छे आउन छोड्यो । म अचम्मित भएँ । आमा पनि । मावलाका सबै । पछिल्लो छ महिनादेखी यो क्रम टुटेको थियो ।
एकदिन ..
“तपाईँको फोन भोली आउँछ । बुथमा जानु अरे ।”  खबर आयो । मलाई त्या खबर ल्याउने मान्छे देवदूत जस्तो लाग्यो । मलाई राम्रै याद छ, शुभ समाचार सुनेर आमाको अनुहारमा गुराँस फुलेको थियो । भोलीपल्ट हामी आमा छोरी दगुरेर पुगेका थियौ फोन बुथमा । पहिले जस्तै लाईन बस्यौं । लामो समयको प्रतिक्षा पश्चात आमाले फोनको रिसिभर राख्नुभयो ।
उताबाट एकहोरो कोही बोलिरहेको थियो । आमाकोे अनुहारको गुराँस एकदम संग ओईलाएर गयो ।  निलो निलो गाढा निलो देखियो आँखाको रङ । निधारमा स—साना गाँठा देखिए । हठात् फोन रिसिभर राखेर मलाई तान्नुभयो । तान्दै तान्दै घर जाने बाटो पुर्याउनुभयो । मैले जोडसंग उहाँले अठ्याउनुभएको मेरो हात फुत्काउन खोजें । आमाले अझ जोडले अठ्याउनुभयो ।
“यसको पापाले अर्को बिहे गरेर बसेको छ रे । काठमाण्डूमा । ठूलो पापालो फोनमा भन्नुभएको । ” आमाले घर पुगेर बाजे बोजुलाई भन्नुभयो । अनि पो कुरा स्पष्ट भयो । त्यस दिन देखी मेरो लागि पापा अप्रिय मान्छेमा रुपान्तरण हुनुभयो । मलाई पापा मन परेन ।
समय बित्दै गयो । पापा आउनु भएन । पछि धेरै पछि पो ठूलो पापा आउनुभयो पापा बस्ने ठेगाना बोकेर ।समयले घाउ पुर्दै लादोँ रहेछ । त्यतिन्जेलमा पापाप्रतिको मेरो रोष सकिदै गएको थियो  । पापाको ठेगाना पाएपछि मलाई भित्र भित्रै पापा भेट्न मन लाग्यो । म कान्छा मामासंग पापा भेट्न काठमाण्डू गएँ । यसको लागि आमासंग एउटा ठूलै युद्ध लड्न परेको थियो । आमालाई भएको छोरी पनि गुमाउँछु भन्ने पीर थियो होला । त्यसैले पापासंग भेट्न दिन अवरोध खडा गर्नुभएको थियो ।
लगातार छब्बीस घण्टा यात्रा गरेपछि पुगेकी थिएँ काठमाण्डू । अँध्यारो भईसकेकोले आफन्तकोमा बसें । म आएको खबर पाएर पापा भोलिपल्ट बिहानै आइपुग्नभयो । यसले गर्दा म भित्र भएको अलिलि रिस पनि मरेर गयो । पापामा कस्तो शक्ति थियो कुन्नि ? उहाँको अनुहार देखेपछि एकाएक म भित्र मायाको छाल उर्लियो । अघिको घृणा सब आँशु बनेर बग्यो ।  भन्नलाई त आमासंग पापालाई भेटेपछि मारिदिन्छु भनेर गएकी थिएँ ।
तीन दिनको काठमाण्डू बसाँईमा पापाले म माथि सम्पूर्ण माया उराल्नुभयो । मैले पापासंग यति धेरै प्रिय समय बिताएँ कि पूरा तीन वर्ष भोगे जस्तो लाग्यो । म यसै यसै खुसी भएँ । चौथो दिन कान्छामामासंगै म झापा फर्किएँ । हामीलाई बसपार्क सम्म छोड्न पापा आउनु भएको थियो ।  
“भेना दिदी र भान्जीलाई सम्झेर फर्किनुहोला । जे जस्तो भए पनि तपाईँ हाम्रो मान्छे । हामी स्वीकार्छौं ।” बस गुड्नेबेला कान्छा मामाले पापालाई भन्नुभएको थियो । पापाको अनुहार कस्तो कस्तो तमतमाईलो देखिएको थियो ।
शब्द र क्षमामा कति शक्ति हुदोँ रहेछ मैले केही समय पछि थाहा पाएँ । कान्छा मामाले भन्नुभएको त्यति तीन हरफले हाम्रो जिवनमा फेरी खुसी ल्याईदियो । पापा साँच्चै घर फर्किनुभयो  ।
शुरुमा स्थिति असामान्य रह्यो । विस्तारै सामान्य भएर गयो । पापा र आमा बीच पुनः प्रेम अंकुरायो । भाई जन्मियो । घरमा खुसी थपियो ।  यस बीचमा म आमासंग भन्दा बढ्ता पापासंग झ्याम्मिएँ । आमा अलिक कडा स्वाभावको । पापा कमलो स्वाभावको । काम बिग्रियो भने आमाको साफ कुटाई खाइन्थ्यो । पापा सधै मेरो बचावमा रहनुहुन्थ्यो ।  यसरी पुनः समय बित्दै गयो ।
पापाभित्र कतै न कतै अपराधबोध थियो । छुटेर गएको समय, आप्mनो जिम्मेवारी, कर्तव्य, दायित्को  खाडल पुर्न पुरापुर तयार हुनुभयो । हाम्रो धेरै नै वास्ता गर्न थाल्नुभयो ।
त्यसै बीच म घर छोडेर स्कुल नजिक कोठा भाडामा लिएर बस्न थालेकी थिएँ । यसको चाँजोपाँजो पापाले नै मिलाईदिनुभएका थियो ।
ती दिनहरुमा आईतबार र सोमबार मलाई विशेष रमाईलो लाग्थ्यो । शुव्रmबार घर गएर शनिबार फर्किदाँ म संग अलिअलि पैसा हुन्थ्यो । खास त्यो पैसा पापाले आमासंग लुकाएर मेरो लागि राखिदिनुहुन्थ्यो । हप्ता दिनलाई अड्कलेर दिनुभएको पैसा म भने चार दिनमै सखाप पार्थें । चटपटे खाएर । साँच्चै ती दिनहरु असाध्यै रमाइलो थियो ।
तर जीवन त सुख दुःखको रिले रहेछ । सुखको अनुभूति गर्दै थिएँ । अकस्मात एक दिन ….
कुशे औंशीको दिन थियो । शुुव्रmबार परेको थियो । शनिबार मात्रै घर जाने मनसायले डेरामै बसिरहेकी थिएँ । सधैको जस्तो दैनिकी चल्दै थियो । बिहानको चिया पिएर पढ्न बसें ।  किताब पल्टाउँदै थिएँ । ढोकामा बर्दीवाला पुलिस उभिएको देखें ।
“दीपा भनेको को हो ?”
एक त पुलिस । अर्को मेरै नाम लिएर सोधिरहेको थियो । मेरा हंसले ठाउँ छोड्यो । नजिकैको दादाले मतिर इङ्गित गरेर देखाईदिए ।
“तपाईँको बुबा सिरियस बिरामी हुनुहुन्छ रे । घर जानु रे । तुरुन्तै ।” पुलिसले छिटो छिटो भन्यो । अनि दादालाई बाहिर लगेर खुसुरपुसुर गर्यो ।
म त मावलको बाजेलाई बुबा भन्ने गर्थें । बाजेलाई के भएछ ?  म अत्यासिएँ । यतिकै लगाएकै लुगामा हिडें ।  अरु बेला १ घन्टा लाग्ने ओरालो जङ्गल बाटो पैंतालिस मिनेटमै झरें । खोला तरें । डाँडा उक्लिएँ । डाँडाबाट केही छिन हिडे पछि मावल घरको आगन पुगे । मावल घरबाहिर मान्छेहरु उभिएका कोहि बसिरहेका। ति अजीबका लागे मलाई ।  भयको सिरेटो चल्यो ।आँगनमा मान्छेको भिड लागेको थियो । तर मौन थिए । भिड पनि मौन हुदों रहेछ । पहिलोपटक देख्दै थिएँ ।
“बोजु बुबालाई के भयो ?” मैले बोजुको हात समातेर सोधें ।
“नानी तेरो पापा … । ” बोजु यो भन्दा बढी बोल्न सक्नुभएन । कोही पनि बोलेनन् । निकै बेरसम्म म अन्योलमै रहें । “के भएको कोही बताउ ।” म एकदम हताससंग चिच्याएँ ।  त्यसपछि बल्ल माईजुले बेलिबिस्तार लाउनुभयो ।

सधैं जस्तो पापा अघिल्लो बिहान घोडा लिएर काममा निस्कनुभएछ । दिनभरी पानी पर्यो । घर फर्किदाँ लगातार परेको पानीले खोलाले उग्र रुप लिएको थियो । पापाले अँध्यारोमा ठम्याउनु भएन अथवा आँट गरेर तर्न खोज्नुभयो । खोलाले पापालाई बगाएछ  । गाउँ नै उर्लिएर रातभर खोज्दा पनि पापालाई भेटेनन् । मामाहरु अझै खोज्दै हुनुहुन्छ ।
यतिकैमा माइला मामा आईपुग्नभयो । मेरो मनमा अलिकति आशा पलायो । तर मामाको अनुहार खस्केको थियो । उहाँले मतिर हेर्नै सक्नुभएन । हामीले बुझ्यौं,  खबर अप्रिय छ ।
“भेना एक किलोमिटर तल भेटियो । दुइवटा मुढाको बीचमा । तर सग्लो भेट्न सकेनौं ।”
घरमा कोलाहाल मच्चियो । मलाई लाग्यो मेरा पैतालाहरु जमिनमा धसिदै गएको छ । वरिपरिको भुभाग सबै एकदम छिटो घुमिरहेको छ ।
एकछिन पछि मात्र मैले सम्झिएँ, आमा र भाईलाई । पाँच कान्ला मुनि थियो घर । म हाम् फाल्दै गएँ । माईजुहरु पनि पछ्याउँदै आउनुभयो । सिकुवामा आमा सानो भाईलाई च्यापेर कहालिएर रोईराख्नु भएको थियो । आमाको आँशु देखेपछि मात्रै म रुन थालें । जोड जोडले ।
मेवाहाङ जातिमा कालगतिले मृत्यु भए मृतकलाई चुलामा लगाउने चलन छ । अकालमा मृत्यु भएमा धामी राखेर मृतकसंग संवाद गराईन्छ । मृतकलाई कहाँ बस्न मन छ ? सोधिन्छ ।
पुख्र्यौली घर संखुवासभा भएकोले झापामा चुला गाडिएको थिएन । झापामा चोखिने कार्य मात्र भयो । बाँकी कार्जेको लागि पहाड जानुपर्ने भयो । आमा, ठुलोबडा, भाई, कान्छा मामा लगायत जानू भयो । धामी राखेर पापालाई विधिवत रुपमा विदाई गरिदै थियो ।  म भने झापामै मावलमा बसें । दिन जसोतसो बित्थ्यो । रातमा भने म सपनामा पापासंगै डुल्थें । गफ गर्थें । अनि झस्याङ्ग बिउँझन्थें । त्यसपछि निद्रा पर्दैनथ्यो आँखामा । जाग्राम बस्थें । एक दिन, दुईदिन, हप्ता दिन ठीकै थियो । लगातार सपनामा पापालाई देखिरहें । मेरो स्वास्थ बिग्रदै गयो । यो कुरा पछि मैले बाजेलाई सुनाएँ ।
“त्यसरी सपनामा दुःख दिनेलाई बिऊँझेपछि गाली गरिदेउ । अनि देख्दैन ।” बाजेले सिकाउनु भयो ।  बाजेले भन्नुभए जस्तै मैले पापालाई गाली गरेँ । बाँचुन्जेल जो संग म सधै सामिप्य खोज्थें उसैलाई मैले भगाउनु परेको थियो  । मेरो प्रिय पापालाई मैले गाली गरें ।  त्यस यता आज तेह्र वर्ष वितिसक्यो । मैले एक पटक पनि पापालाई सपनामा देखेकी छैन ।

About The Author

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top